शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग राख्दै बुटवलमा अनेरास्ववियूको प्रदर्शन

Spread the love

सत्तारूढ दल नेकपा एमाले निकट अनेरास्ववियू रूपन्देहीले शिक्षक र विद्यार्थीहरूलाई खोपको व्यवस्था गर्न, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न लगायतका माग राख्दै बुटवलमा प्रदर्शन गरेको छ।

बुटवल बहुमुखी क्याम्पस अगाडि भेला भएका विद्यार्थी नेताहरूले सरकारले तत्काल विद्यार्थी शिक्षकहरूलाई कोभिडविरूद्धको खोपको व्यवस्था गरी बाँकी रहेका परीक्षा सञ्चालन गर्न आग्रह गरेका छन्।

उनीहरूले शैक्षिक क्षेत्र महत्वपूर्ण हुँदाहुँदै पनि सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा नपारी शिक्षक र विद्यार्थीहरूलाई खोप लगाउनबाट अहिलेसम्म बञ्चित गरेको भन्दै तत्काल खोपको व्यवस्था गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेलले अनेरास्ववियूले जहिले पनि विद्यार्थीको हक हितका निम्ति काम गर्दै आएको उल्लेख गर्दै विद्यार्थी र शिक्षकलाई खोपको व्यवस्था नगरिए र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाइ फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने बताए।

अनेरास्ववियूका अर्का केन्द्रीय सचिवालय बालकृष्ण पाण्डेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको सबभन्दा बढी मारमा विद्यार्थी वर्ग पर्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे।

उनीहरूले अनेरास्ववियू सधैं राजनीतिक अस्थिरता निर्दलीय सोच र प्रवृत्तिविरूद्ध एकजुट बन्दै आएको भन्दै अहिले ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्न लागिरहेको बताए।

कार्यक्रममा अनेरास्ववियू रूपन्देहीका अध्यक्ष साजन भण्डारी र सह-संयोजक शेषकान्त पोखरेलले सांसदलाई दलविहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन नसक्ने भन्दै संवैधानिक सर्वाेच्चता कायम गरी सार्वभौम जनताको अधिकार सुनिश्चित गर्न पनि ताजा जनादेशमा जानुको विकल्प नभएको बताए।

About The Author


Spread the love