अघिल्लो लकडाउनमा ‘महाभारत’ पढेकी सुहाना थापा यसपालि खोज्दैछिन् नेपाली साहित्य

Spread the love

DelightFace

अघिल्लो लकडाउनमा अभिनेत्री सुहाना थापाले आध्यात्मिक किताबहरू पढिन्। भागवत गीता र महाभारत सकिन्। यसपालि निषेधाज्ञामा उनी नेपाली साहित्यका किताब पढ्दैछिन्। 

गत बिहीबारदेखि सुहानाले हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित किताब ‘एक चिहान’ पढ्न थालेकी छन्। नेपाल सरकारको पाठ्यक्रम अनुसार यो किताब प्लस-टुमै पढाइ हुन्छ। सुहानाले भने ए-लेभल गरेकाले पढ्न पाएकी थिइनन्।

‘बहिनीको घरमा यो किताब देखेँ। उसले १२ कक्षामा पढेकी रहिछ,’ सुहानाले नेपाली साहित्यप्रति जागेको रूचिबारे भनिन्, ‘म पश्चिमा साहित्य खुबै पढ्छु। तर नेपाली साहित्य पढेकी थिइनँ। त्यसैले यसपालि निषेधाज्ञाको फुर्सदमा पढ्ने योजना बनाएकी छु।’

अहिलेसम्म पढिसकेको भागका आधारमा सुहाना ‘एक चिहान’ निकै यथार्थपरक र समाजको दृश्य देखाउने किताब रहेको बताउँछिन्। नेपाली साहित्य पढेर नेपाली समाज, इतिहास र अहिलेको परिस्थिति बुझ्न सकिने विश्वासमा उनी थप किताब खोजेर पढ्न जोसिएकी हुन्।

यो फुर्सदमा उनले कुन-कुन किताब पढ्ने भनेर भेउ पाएकी थिइनन्। यसको समाधान गर्न उनले आफ्नो सामाजिक सञ्जालमा सुझाव मागिन्। प्रशंसकले थुप्रै किताबका नाम सुझाइदिए। तीमध्ये उनले नारायण वाग्लेको ‘पल्पसा क्याफे’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, सुबिन भट्टराईको ‘प्रिय सुफी’, अमर न्यौपानेको ‘करोडौं कस्तुरी’ लगायत दर्जन बढीको सूची तयार पारेकी छन्।

उनका अनुसार लेखक बुद्धिसागर आफैंले पनि उनलाई अमेरिकी लेखक रोबर्ट एम. पिर्सिग लिखित किताब ‘जिन एन्ड द आर्ट अफ मोटरसाइकल’ पढ्न सुझाएका थिए। भनिन्, ‘यो किताब मैले अहिलेसम्म पढेमध्ये मनपरेको हो।’

आफ्नी आमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर-२’ को काम सिलसिलामा उनले बुद्धिसागरलाई भेटेकी थिइन्। यो सन् २०१६ तिरको कुरा हो। बुद्धिसागरले सुझाएको किताब निकै प्रभावकारी लागेको उनी बताउँछिन्।

सानैदेखि अंग्रेजी माध्यमको स्कुल पढेकाले नेपाली विषयमा उत्ति चासो नभएको हो कि भन्ने सुहाना अहिले अनुमान लगाउँछिन्। स्कुल हुँदा उनलाई नेपाली व्याकरण, शब्दावली र साहित्य, सबैमा कम रूचि थियो।

‘मलाई नेपाली साहित्यबारे धेरै ज्ञान छैन। कसैले नेपाली साहित्यकार वा किताबको नाम भन्न लगाउँदा ट्वाल्ल पर्छु,’ उनले भनिन्, ‘त्यसैले अब सुझावमा आएका किताब पढ्छु र नेपाली साहित्य पनि बुझ्ने प्रयास गर्छु।’ 

अमेरिकाको नोभा कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी सुहानाको खास रूचि भने दार्शनिक-आध्यात्मिक किताबमै छ। मनोविज्ञान पढ्नुअघि उनी व्यवसाय व्यवस्थापन र मार्केटिङकी विद्यार्थी थिइन्, ‘बिजनेसमा मन गएन। भागवत गीता पढेपछि मनोविज्ञान पढ्नुपर्छ भन्ने लाग्यो।’ 

पुराना धार्मिक ग्रन्थले समाजको अर्थ व्यवस्था, नेतृत्व भार, मानसिक व्यवहार र समग्र जीवन बुझाउन सक्ने क्षमता राख्ने महशुस उनले गरेकी छन्। महाभारत पढेपछि अर्जुन पात्रबाट विशेष प्रभावित उनी भन्छिन्, ‘अर्जुनको चरित्रले अस्तित्व र संघर्षको प्रतिनिधित्व गर्छ। र आफ्नै जीवनसँग पनि सान्दर्भिक लाग्छ।’ 

सुहानाले यसअघि २०७१ सालतिरै पढाइ सिलसिलामा भारत हुँदा अंग्रेजीमा महाभारत पढेकी थिइन्। नेपालीमा भने धेरै कुरा विस्तृत समेटिएको उनलाई लागेको छ। त्यही बेला पहिलो पटक गीता पनि पढेकी उनले भनिन्, ‘धार्मिक र आध्यात्मिक कुरा पढ्ने रूचि त्यही बेलादेखि बढेको हो।’

महाभारत र गीता अध्ययनले आफूमा धेरै परिवर्तन आएको उनी बताउँछिन्, ‘सोच्ने तरिकादेखि विषय विश्लेषण गर्ने क्षमतामा समेत परिवर्तन ल्याइदिएको छ।’

सुहानाको मन धर्म, दर्शन र अध्यात्मतिर ढल्किनुमा उनको अमेरिका बसाइले पनि भूमिका खेलेको छ। उनका अनुसार अमेरिका पुगेको छ महिना नबित्दै एक्लो महशुस हुन थालेको थियो। समस्या निकै परेको बुझेपछि आमाबुवा भेट्न पुगे। सुहानाले आमासँग सबै अप्ठ्यारा सुनाइन्। आमाले उनलाई मन शान्त राखेर ‘हरे कृष्ण’ मन्त्र जप्न सुझाइन्। सुहानाले त्यसै गरिन्।

यसपछि नै आफूमा बदलाव आएको उनी बताउँछिन्। योसँगै उनले मार्केटिङ बीचमै छाडेर मनोविज्ञान पढ्न थालेकी हुन्। यसै बीच आमाले फिल्म खेल्ने कुरा गरेपछि उनको बाटो फिल्ममा मोडिएको हो।

अहिले उनी कलेजबाट ‘ब्रेक’मा छिन्। त्यसैले पहिलेको लकडाउनमा झैं यसपटक अनलाइन कक्षाका लागि समय निकाल्नु पर्दैन। ‘त्यसैले अहिले जतिबेला मन लाग्यो, त्यतिबेला पढ्छु,’ उनले भनिन्।

पढ्न बाहेक उनी फिल्म हेर्न रूचाउँछिन्। फिल्म हेर्दा र किताब पढ्दा मान्छेको दिमाग सक्रिय रहने विश्वास उनको छ। भन्छिन्, ‘यस्तो समयमा दिमागलाई जतिसक्दो व्यस्त राख्नुपर्छ। नयाँ-नयाँ कुराले भर्नुपर्छ। यसले तनाव कम गर्न मद्दत मिल्छ र सकारात्मक रहन प्रेरित गर्छ।’

त्यस्तै उनी बिहान सबेरै उठेर हरेक दिन एक घन्टा ध्यान र व्यायाम गर्छिन्। यसले पनि मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन मद्दत मिल्ने बताउँछिन्। 

सुहाना होम-प्रोडक्सनको ‘ए मेरो हजुर-३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्। आमा झरना थापाको निर्देशनमा बनेको पहिलो फिल्मले नै उनलाई सफलता चखाएको थियो। अहिले उनको फिल्म ‘ए मेरो हजुर-४’ को छायांकन हालै सकिएको छ। भदौ १८ गते सार्वजनिक गर्ने भनिएको फिल्मको पोस्ट-प्रोडक्सन काम भइरहेको सुहानाले बताइन्। 

About The Author


Spread the love