दिदीभाइको माया र झगडाको कथा, हेर्नुस् ४० मिनेटको नेपाली फिल्म युट्युबमा

Spread the love

फुर्सदमा सिनेमा

कुनै पनि सम्बन्धमा दुवै पक्षका प्राथमिकता र सपनाबीच सन्तुलन मिलेन भने द्वन्द्व बढ्छ। ‘सम्बन्धक्’ यस्तै द्वन्द्वको कथा हो। फिल्मको कथा नेहा, उनका भाइ राजु र उनीहरूका दाइ रमेशबीच घुम्छ। 

कथाको केन्द्रमा नेहा छिन् जो बिबिए पढ्नु परेकामा असन्तुष्ट छिन्। उनी विदेश जान चाहन्छिन्। विदेश गएर उनी ग्राफिक डिजाइन पढ्न चाहन्छिन्। तर उनीमाथि ह्विलचेयरमा गुड्ने भाइको स्याहार गर्ने जिम्मेवारी छ। उनी लुकिछिपी विदेश जाने प्रक्रिया अघि बढाइरहेको कुरा भाइले चाल पाएपछि अप्ठ्यारोमा पर्छिन्। परिवार र सपनामध्ये एक रोज्नुपर्ने दुविधामा पुग्छिन्।

उनी सम्बन्ध जोगाउनका लागि बन्धक भएको महशुस गर्छिन्। 

‘सम्बन्धक्’ को कथा नेहाको भोगाइबाट मात्र देखाइएको छैन। नेहालाई जस्तै ह्विलचेयरबाट भर्खरै भुइँमा खुट्टा टेक्ने प्रयास गर्ने राजुको पनि आफ्नै सपना छ- एकएक पाइला टेक्दै आफ्नै शरीरको बलमा हिँड्ने।

तर यही बेला दिदी बाहिर गए यो सपना पूरा नहोला कि भन्ने पिर छ। उता दाइ रमेश त झन् बहिनीकै भरमा घर खर्चका लागि ढुक्कले खटिन पाएका छन्। बुबाले अर्को बिहे गरेको र आमाको निधन भइसकेकाले रमेशका लागि पनि घर व्यवहारको अभिभाराले बन्धक बनाएको छ।

एकअर्कामा आश्रित यो परिवारका तीन जना फरक सोच र मूल्य-मान्यताका प्रतिनिधि हुन्। दाइ रमेशले पुरानो सोचको प्रतिनिधित्व गर्छन् जसलाई विदेश जानेमा कुराप्रति नै आपत्ति हुन्छ। तर उनी बहिनीलाई माया नगर्ने दाइ होनन्।

उनी विदेश जान लागेकी बहिनीलाई नजान फकाउँदै भन्छन्, ‘भोलि केयु गएर ग्राफिक डिजाइनबारे बुझम्ला।’

फिल्ममा नेहा र राजु साथीसरह छन्। उनीहरू मायासहितको झगडा गर्छन्। तर नेहा विदेश जाने थाहा पाएपछि उनीहरूको आत्मीय सम्बन्धमा दरार आउँछ। यी पात्रहरू जिम्मेवारी, सपनामध्ये केलाई प्राथमिकता दिने भन्ने अन्योलमा पर्छन्।

यो अन्योलले फिल्ममा गज्जबको द्वन्द्व सिर्जना गरेको छ, ‘सम्बन्धक्’ हेर्ने दर्शकलाई रोमाञ्चित बनाइराख्छ। 

हरेक घरका दिदीभाइ वा दाजुबहिनीले आफूलाई भेट्न सक्ने ‘सम्बन्धक्’ को कथा सिद्धार्थ पुडासैनीको लेखन, निर्देशन र सम्पादनमा तयार भएको हो। सशक्त पटकथा र चुस्त सम्पादनसहितको ४० मिनेटको यो फिल्म निर्देशक पुडासैनी र उनको समूहले सुझबुझका साथ बनाएका छन्।

फिल्मको सुरूमै नेहाले चलाइरहेको कम्प्युटरमा अंग्रेजी शब्द ‘फियर’ ठूलो अक्षरमा देखाइएको छ। त्यही बेला टेलिभिजनमा विदेश जाने कुराको विरोध गरिरहेका कोही नेता बोलिरहेका हुन्छन्। राजुले कपाल मिलाइरहेको ऐनाबाट दाइ रमेश फोनमा बोल्दै गरेको देखाइन्छ।

फिल्म सुरू हुँदानहुँदै, पात्रहरू एकअर्कासँग नबोल्दै यी गतिविधिले फिल्मको विषय र पात्रबारे धेरै कुरा बताइसक्छ। फिल्म अघि बढ्दै जाँदा दर्शकलाई कथा ‘न्यारेट’ गर्ने शैली पनि रूचिकर लाग्दै जान्छ। 

गत वर्ष  पहिलो लकडाउन सकिएर दसैंअघि काठमाडौंको टोखा आसपास छायांकन भएको फिल्म तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको थियो। महामारीकै कारण फिल्ममा धेरै कलाकार राखिएको थिएन।

नेहाको भूमिकामा मीरा खड्का, राजुको भूमिकामा सिमान्त पुडासैनीले तारिफ योग्य काम गरेका छन्। रूखो दाइको भूमिकामा सन्देश शाक्य र नेहाकी साथी सुबीको भूमिकामा देखिएकी आकांक्षा जिसी पनि जमेका छन्।

निर्देशक तथा लेखक पुडासैनीका अनुसार उनले वास्तविक जीवनमा देखेका-भेटेका पात्रकै आधारमा यो कथा लेखेका हुन्। फिल्मका पात्रहरूजस्तै र उनीहरूको संवाद पनि कृत्रिम लाग्दैन। पर्दामा उनीहरू हामीले दैनिक जीवनमा अनौपचारिक रूपमा बोले जसरी बोल्छन्।

टुनामुना प्रोडक्सनबाट सार्वजनिक ‘सम्बन्धक्’ को भाग दुई पनि लेखिसकिएको छ। यसमा फेरि नयाँ सम्बन्धका जटिलता कथा देखाउने निर्देशक तथा लेखक पुडासैनीले बताएका छन्।

About The Author


Spread the love