बिएन्डसीमा गएको टोलीका संयोजक डाक्टरले हस्ताक्षर गर्न नमानेपछि रोकियो प्रतिवेदन

Spread the love

कित्सा शिक्षा आयोगले बिएन्डसी मेडिकल कलेजमा पठाएको टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको छ। संयोजक डा. प्रकाशराज पाण्डेले प्रतिवेदनमा हस्ताक्षर नै नगरेपछि टोलीले तयार पारेको प्रतिवेदन अलपत्र परेको हो।

गत साता नै पाण्डे नेतृत्वको टोली बिएन्डसी मेडिकल कलेज पुगेको थियो। उनको नेतृत्वमा आयोगका सदस्यहरू डा. रमेशप्रसाद र डा. भोजराज अधिकारी थिए।

आर्मी कलेजका कर्णेलसमेत रहेका संयोजक पाण्डेले सदस्य अधिकारीको भूमिकामा प्रश्न उठाउँदै हस्ताक्षर गर्न नमानेको उनीनिकट स्रोतले बतायो।

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले टोली गठन गरेका थिए। त्यो टोलीमा उनको मुद्दामा साक्षी बसेका व्यक्ति सदस्य रहेको खुलेपछि पाण्डेले प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेको आयोग स्रोतले सेतोपाटीलाई बतायो।

बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र गिरीबीचको गालीबेइज्जती मुद्दामा गिरी पक्षबाट अधिकारी साक्षी बसेका थिए।

यो कुरा थाहा पाएपछि पाण्डेले प्रतिवेदन विवादमा आउने भन्दै हस्ताक्षर गर्न नमानेको उनीनिकट स्रोतले बतायो।

‘उहाँ झगडीयाको साक्षी बसेको व्यक्ति हुनुहुँदो रहेछ, त्यो कुरा सुरूमा थाहा भएन, जतिबेला थाहा भयो स्वार्थको द्वन्द्व हुन्छ भनेर मैले हस्ताक्षर गर्न मानिनँ,’ पाण्डेनिकट स्रोतले भन्यो।

तर, पाण्डेले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। उनले आयोगमै सबै कुरा सोध्न अनुरोध गरे।

‘मलाई धेरै पत्रकार साथीहरूले यो विषयमा सोधीखोजी गर्दै फोन गर्नुभएको छ, मैले आयोगमै बुझ्न भनेको छु,’ उनले सेतोपाटीसँग भने।

काठमाडौं विश्वविद्यालयले सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि बिएन्डसीमा आयोगले टोली पठाएको हो।

गिरीको मुद्दामा साक्षी बसेका डा. अधिकारीले पनि प्रतिवेदन र मुद्दामा साक्षी बसेकोबारे आफू केही नबोल्ने बताए।

उपाध्यक्ष गिरीले एक पटक आयोगले नै अनुगमन गरी भौतिक पूर्वाधारलगायत जाँचबुझ गरेपछि मात्रै सम्बन्धन अगाडि बढाउन सकिने भनी त्रिविको बोर्ड बैठकमा प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग अडान लिएका थिए।

तर, आफ्नो पक्षमा रहेका व्यक्ति नै राखेको पाइएपछि उनको भूमिका नै विवादमा आएको छ।

आयोगका सदस्य सचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले हालसम्म टोलीले प्रतिवेदन नबुझाएको बताए। तर, के कति कारणले प्रतिवेदन नबुझाएको भन्नेबारे आफू बेखबर रहेको बताए।

‘उपाध्यक्षज्यूले पठाउनुभएको गोप्य टोली हो, मलाई यसबारे केही जानकारी भएन,’ उनले भने।

गिरीले यसबारे आफूले केही नभन्ने सबै कुरा प्रवक्तामार्फत् बुझ्नुपर्ने बताए।

मंगलबार प्रतिवेदन त्रिविको कार्यकारी समितिको बैठकमा पेश गर्ने योजना थियो। तर, समितिका संयोजकले नै हस्ताक्षर नगर्दा प्रतिवेदन अगाडि बढ्न नसकेको आयोग स्रोतले बतायो।

बिएन्डसी मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयले यसअघि टोली पठाएको थियो। त्यो टोलीले प्रारम्भिक रूपमा प्रतिवेदन दिएको थियो।

त्यो प्रतिवेदनलाई टेकेर त्रिवि बोर्डमा प्रधानमन्त्री र शिक्षामन्त्रीले सम्बन्धन अगाडि बढाउन गिरीलाई दबाब दिएका थिए। तर, आयोगबाट टोली पठाएर मात्रै निर्णय गर्न सक्ने अडान गिरीले राखेपछि एक साताभित्र टोली गठन गरी बिएन्डसी पठाउने सहमति भएको थियो।

About The Author


Spread the love