‘फेक न्यूज’ बिक्री गर्ने थलो बन्दै सामाजिक सञ्जाल!

Spread the love

पछिल्ला केही दिनयता सामाजिक सञ्जाल र यूट्युबर रवि लामिछानेमय भएको छ । सामाजिक सञ्जालमा रवि लामिछानेसँग सम्बन्धित पोष्ट र भिडियोको लहर चलेको छ ।

सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो । जस्ता शीर्षक राखिएका हजारौं पोष्ट, भिडियो सामाजिक सञ्जालमा सेयर गरिँदैछ ।

युट्युव र सामाजिक सञ्जालमा आएका केही समाचार र भिडियोका शीर्षक पढ्नुहोस् :

१ : मध्य रातमा चितवनबाट एक्सक्लुसिभ रिर्पोट, पत्ता लाग्यो घिनलाग्दो चलखेल । रबिलाई जेलमा सडाउने षडयन्त्र यसरी तुहिंदै, रबि ५ दिनभित्र रिहा हुने प्रधानमन्त्री निवासमा खैलाबैला ।

२ : रबिको पक्षमा उर्लियो जनसागर, चितवनमा गोली चल्यो अवस्था यस्तो, डरलाग्दो लाईभ भिडियो ।

३ : झण्डै ढलिन रबिकी आमा भित्र छिर्न दिईएन । सोच्न नसकिने यस्तो सम्म भयो ।

४ : २ करोड सँगै रबि सिध्याउने खेलको भयो पर्दाफास । सर्वोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा ।

५ : आयो मात्र २४ घण्टाका लागि यति ठूलो चुनौती, पुडासैनीको हत्यारलाई २४ घण्टामा पकडेर देखाइदिन्छु । सडकमा आगो बाल्नु परेनी बालौैला, मर्नु र मार्नु परेपनि पछि हट्दैनौ ।

६ : अन्तमा होटल कंगारु आगो लगाउने निर्णय

७ : रबिलाई फसाउन चितवनको एसपीको मृतक परिवारलाई दबाब । मृतकका दाजुहरु र ससुराले गरे यस्तो गभीर खुलासा ।

८ : रबि लामिछानेबारे माताको भविष्यवाणी यस्तो, दाबिका साथ फेरी गरिन भविष्यबाणी ।

९ : रवि पक्राउ परेपछि यसरी गर्जिय पत्रकार ऋषि धमाला ।

१० : रबिलाई फसाउनुको कारण खुल्यो यसरी भयो षडयन्त्र ।

११ : बाहिरियो रबिसँगको गोप्य कुराकानी ठूलो रक्तपात हुने भविष्यवाणी रबिलाई अझै ठूलो खतरा रहेको खुलासा ।

१२ : रबिदाई लाई प्रचण्डले रिस फेरेको हो । जेरिले गरे सबै पर्दाफास चितवन एसपी प्रचण्डको भूपु बडिगार्ड ।

यस्ता शीर्षक राखिएर बनाइएका भिडियो र पोष्टको सूची लामै बन्नसक्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाल, चितवनका एसपी दानबहादुर मल्ल, पत्रकार किशोर श्रेष्ठको नाम जोडेर पनि कयौँ पोष्ट र भिडियो बनाईएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यस्तै सनसनीपूर्ण शीर्षक राखिएका भिडियो र पोष्ट सेयर गर्दैछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई भड्काउने, उत्तेजित बनाउने यस्ता पोष्ट र भिडियो बनाउनमा माहिर छन् यूट्युबर र केही मिडिया ।

डिभोर्सदेखि, हत्या, आत्महत्या र राजनीतिका विषयमा सनसनीपूर्ण खुलासा गर्ने, पर्दाफास गर्ने यूट्युबर नै सामाजिक सञ्जाल प्रयोगकर्तालाई भड्काउने पहिलो माध्यम हुन् ।

यूट्युबका विवेकहीन कन्टेन्ट पत्याई दिन्छन सामाजिक सञ्जाल प्रयोगकर्ता । तथ्यभन्दा भावनालाई ठूलो मान्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई सनसनीपूर्ण शीर्षक राखेर लोभ्याउँछन यूट्युबर ।

बाबा, मातादेखि मानसिक सन्तुलन गुमाएका व्यक्तिको अगाडी बुम माईक तेस्र्याएर सनसनी खुलासा हुन्छन् । भावनाको खेतीमा उत्तेजना फैलाउने यूट्युबर र केही मिडियाले निर्मला पन्त प्रकरणको अनुसन्धान प्रभावित तुल्याएको हामीले भुलेका छैनौं ।

प्रहरीदेखि अदालतको भूमिका निर्वाह गर्ने रबि लामिछानेकै शैली पच्छ्याउँछन् यूट्युबर । त्यसैले त यो प्रकरणमा पनि यूट्युबर लागि परेका छन् आफ्ना भ्यूअर्स बढाउन ।

सनसनीपूर्ण शीर्षक राखिएका ‘फेक न्यूज’को भ्यूअर्स भइरहँदा । सामाजिक सञ्जालमा ‘फेक पोष्ट’ सेयर गरिरहँदा हामी उत्तेजनाको शिकार भइसकेका हुन्छौं । भावना र उत्तेजनाले हाम्रो विवेकमा ताल्चा लगाइसकेको हुन्छ ।

सेलिब्रेटी र पत्रकार

रबि लामिछाने पक्राउ परेको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई भड्काउन, उत्तेजित तुल्याउन यूट्युबरसँगै पत्रकार र सेलिब्रेटी पनि लागि परेका छन् । समाजले पत्याएका, लाखौं फ्यान फलोईङ भएका पत्रकार सेलिब्रेटी पनि भीडलाई उत्तेजित तुल्याउन लागेका छन् ।

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमा रबिलाई निर्दोष भन्दै लेखे, ‘रबि लामिछाने पक्राउ परेको समाचार सुनेर एउटा कुरा प्रमाणीत हुन्छ कि नेपालको जेलमा अरु पनि हजारौँ निर्दोषहरु बिना कुनै गल्ति फसिरहेका छन् र फसाइएका छन् ।’

प्रहरीले अनुसन्धान गरिरहेको व्यक्तिलाई निर्दोष भन्न पाइँदैन भन्ने सामान्यज्ञान पनि भुले हाँस्य कलाकार श्रेष्ठले । अनुसन्धानको नतिजा नआउँदै आरोपितलाई निर्दोषभन्दा आफू हाँसोको पात्र बन्छु भन्ने पनि भुलेछन हाँस्य कलाकारले ।

बीबीसी नेपाली सेवाका पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ‘रबि लामिछाने निर्दोष सावित होउन्’ भन्ने कामना गरे । मिश्रले यसरी कामना गरे मानौं रबि लामिछाने दोषी भए पनि उनी जुनसुकै हालतमा पनि निर्दोष सावित हुनुपर्छ ।

लामो समय बीबीसीजस्तो विश्वसनीय मिडियामा पत्रकारिता गरेर आएका मिश्र आफूलाई प्रजातान्त्रिक पद्धतिको पक्षधर भन्छन् । प्रजातान्त्रिक पद्धतिमा हरेक नागरिकले आफ्नो आवाज राख्न पाउँछ तर, त्यसको पनि सीमा हुन्छ ।

मृतकले मृत्यु अघि बोलेको कुरालाई एउटा प्रमाणको रुपमा लिएर अनुसन्धान हुन्छ । र, त्यसको कानूनी प्रक्रिया पनि हुन्छ । तर, प्रजातान्त्रिक पद्धतिका पक्षधर मिश्र भने कानूनी र अनुसन्धानको प्रक्रियाले नै उनलाई निर्दोष सावित गरोस् भन्ने कामना गर्न थाले ।

मह जोडिका हरिवंश आचार्य पनि यसमा सामेल भए । फेसबुकमा रबि लामिछानेको तस्बिर राख्दै उनी लेख्छन्, ‘आत्महत्या रोज्नु आफैंमा गम्भीर विषय हो र त्यस क्रममा कसैले कसैको नाम लिएकै कारण कोही अपराधी ठहरिनु अझै गम्भीर विषयको रुपमा हाम्रो समाजमा हिजोआज देखिएको छ । सत्यको जीत होस् ।’

रबि लामिछाने अझै अपराधी सावित भएका छैनन् । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा मात्रै लिएको हो । अनुसन्धानका लागि नियन्त्रणमा लिनु र अपराधी ठहरिनुबीच आकाश पातालको फरक छ भन्ने कुरा कसले बुझाउने हास्य कलाकार हरिवंशलाई ?

सन् २०१३ मा रबि लामिछानेले संसारकै लामो टक शो चलाएर गिनिज वल्र्ड बुक रेकर्ड लेखाउँदा उक्त टक शोका अन्तिम गेस्ट महजोडी नै थिए ।

समाजमा प्रतिष्ठा कमाएका श्रेष्ठ, आचार्य र मिश्रजस्ता व्यक्तिले सामाजिक सञ्जालमा मान्छेलाई उत्तेजित बनाउने भनाइ पोष्ट गरिरहँदा अरु सामान्य मान्छेको अवस्था के होला ? फेसबुक र यूट्युबमा देखिरहनु भएकै छ ।

पहिलोपोष्टडटकमका सम्पादक रहिसकेका उमेश श्रेष्ठ अर्थात शालोक्यले चलाउने माईसंसार नामको ब्लगिङ साईटले पनि यो प्रकरणलाई उत्तेजित बनाउन मद्दत गर्यो ।

शालोक्यले रबि लामिछाने पक्राउ परेकै दिन लेखेको ब्लगमा लामिछानेका समर्थकलाई उक्साउने गरी लेखिएको छ, ‘….वा यही मौका हो भनि कसैको रिस भए त्यसलाई फेर्न उनलाई लामो समय थुन्ने संभावना पनि नहोला भन्न सकिन्न ।………….’ सामाजिक सञ्जालमा लामिछानेलाई फसाइएको हो भन्ने हल्ला चलिरहेको समयमा शालोक्यको यो ब्लग पढ्ने लामिछाने समर्थक झन् भड्किए ।

‘हु किल्ड निर्मला’ शीर्षकराखेर श्रृखंलाबद्ध रुपमा ३० वटा स्टोरी लेखेका सालोक्यले १६औं श्रृखंलामा लेखेका छन्, ‘निर्मला प्रकरणमा यूट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफैं ।’

सामाजिक सञ्जाल र मिडियाले निर्मला प्रकरणको अनुसन्धान फेल गराएको निष्कर्ष निकालेका शालोक्यले निर्मला पन्त प्रकरणमा अनलाइनखबरले प्रकाशित गरेको समाचार गलत भएको प्रमाण समेत जुटाएका थिए । तर, तिनै शालोक्यले अनुसन्धान प्रभावित हुनेगरी, मानिस भड्काउने र उत्तेजित गराउने गरी ब्लग लेखे ।रबि लामिछाने पक्राउ परेकै दिन लेखिएको ब्लगमा उनी रबि लामिछानेका समर्थक आन्दोलनमा उत्रिन सक्छन् भन्दै लेखेका थिए, ‘धेरै कुरा बाहिरी परिस्थितिले पनि निर्धारण गर्नसक्छ नेपालजस्तो देशमा । रवि लामछिानेका समर्थकहरु आन्दोलनमा उत्रिएर एक किसिमले दबाब सिर्जना गर्न सक्छन् । मिडिया सोसल मिडियाले जनमत कस्तो बनाउँछन् त्यसमा पनि भर पर्न सक्छ ।’ सोसल मिडियाले बनाएको जनमतले कानुनी प्रकृया प्रभावित पारोस् भन्ने चाहनु हास्यास्पद हो ।

शालोक्य यतिमै रोकिँदैनन, हिजो (आईतबार) लेखिएको ब्लगमा उनी रवि यस्तो गरे होलान र ? भन्दै प्रश्न गर्दै लेख्छन्, ‘अनित्यताको यति ज्ञान भएको रविले असुली गरेर आफ्नै खुट्टामा बञ्चरो हानेका होलान ?’ सायद रबिबारे उनलाई धेरै नै जानकारी रहेछ क्यार ?

शालिकराम पुडासैनीलाई रविले आत्महत्या गर्न बाध्य बनाएका हुन् या होइनन् भन्ने विषयमा अदालतले फैसाला गर्ने छ भन्दाभन्दै पनि रविमाथि लागेको पैसा असुलिको आरोपको विषयमा शालोक्य लेख्छन्, ‘खैर शालिकरामले करोडौँ असुल्छ भनेर मृत्युअघि बनाएको भिडियोमा बोलेको कुरा अहिलेलाई आरोपमात्रै हो । प्रहरीले यो विषयमा छानबिन गर्न पनि सक्छ, नगर्न पनि सक्छ । यति कुरा आएपछि राज्यलाई चासो लागे छानबिन गर्न सक्छ । छानबिनबाट अन्यथा प्रमाणित नभएसम्म अहिलेलाई यो आरोपमात्रै हो । शालिकरामलाई उनले मर्न बाध्य बनाएको हो कि हैन यो विषयमा पनि प्राप्त प्रमाणका आधारमा अदालतले फैसला गर्ने नै छ ।’

οοο

सामाजिक सञ्जालको प्रभावले फेक न्यूज र न्यूज छुट्याउन सकस भईरहेको समयमा हामी भावना मिसिएको, सनसनीपूर्ण कुरा छिट्टै पत्याउँछौ । उत्तेजित शीर्षक राखिएका । भावुक विषय लेखिएका सामग्री सेयर गर्नु र पढ्नु अगाडि हामी त्यो कुरा कति सत्य हो कति झुट हो भनेर एकपटक पनि सोच्छौं ?

सामाजिक सञ्जालमा फैलिएका यस्तै फेक न्यूज र पोष्टका कारण भारतमा उत्तेजित भीडले सन् २०१८ मा ३२ जनाभन्दा धेरैको हत्या गरेको थियो । त्यसैले भनिन्छ, ‘अर्धसत्य समाचारले दिमागको पुरै स्वतन्त्रता लिएर जान्छ ।’

(अझै बाँकी छ…..)

साभार: शिलापत्र डटकम

About The Author


Spread the love