ओली-नेपालबीच टेलिफोनमा कुराकानी, आज भेट हुन सक्ने

Spread the love

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ।

केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो।

बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको उनीहरू निकट नेताहरूले बताएका छन्।

दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखेका छन्। तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ।

बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको बताए। ‘अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास जारी राख्नुभएको हो,’ उनले भने।

तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए।

नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए। कुराकानीलाई निरन्तरता दिने पनि उनको भनाइ छ। 

आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए।

‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र?,’ उनले भने।

आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।

नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर गरेपछि ओली र नेपाल पक्षबीच सम्बन्ध चिसिएको थियो।

About The Author


Spread the love