‘स्पेशल चार्टर्ड फ्लाइट’बाट रियाद लगिदिने भन्दै ठगी गर्ने पक्राउ

Spread the love

कोरोनाभाइरस संक्रमण वृद्धिसँगै सरकारले अन्तर्राष्ट्रिय उडान रोकेका बेला स्पेशल चार्टर्ड फ्लाइटमार्फत् साउदी अरबको रियाद लगिदिन्छु भन्दै ठग्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरले सोह्रखुट्टेबाट एक जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द रहँदा चार्टर्ड विमानमार्फत् काठमाडौंबाट रियाद लैजाँने बताएर ठग्न खोजेका एक जनालाई पक्राउ गरिएको हो।

कपिलवस्तु घर भई हाल काठमाडौं महानगर वडा नम्बर १६ सोह्रखुट्टे बस्दै आएका ३९ वर्षीय उमेश गुप्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनी अभिवादन एक्सपिडिसन होलिडेज प्रालिका सञ्चालक हुन्। 

प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। 

उनले सामाजिक सञ्जालमा कोभिड १९को कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको बेला अभिवादन एक्सपिडिसन होलिडेज प्रालिले यही ९ र ११ तारिखमा स्पेसल चार्टर्ड फ्लाइट काठमाडौंबाट रियाद जाने भन्दै सूचना राखेका थिए।

साथै बुकिङको लागि सम्पर्क नम्बर र नाम समेत राखेर यात्रुहरूलाई ठग्न खोजेको प्रहरी उपरीक्षक बस्नेतले बताए। सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।

उनीमाथि थप अनुसन्धान थर्न जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेको छ। प्रहरीले उनीबाट एउटा ल्यापटप र फोन पनि बरामद गरेको छ। 

About The Author


Spread the love