म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

Spread the love

इंग्लिस क्लब चेल्सीले सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार मध्यरातमा भएको फाइनल भिडन्तमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।

चेल्सीले खेलको ४२ मिनेटमा अग्रता लियो। चेल्सीका लागि काइ हभार्ट्जले गोल गरे। उनले मासन माउन्टले दिएको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

यसअघि चेल्सीले सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो।

सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। पहिलो  पटक च्याम्पियन्स लिग जितेर इतिहास बनाउने सिटीको लक्ष्य भने पूरा हुन सकेन। 

खेलको पहिलो हाफमा चेल्सीका डिफेन्डर थियागो सिल्भा घाइते भएका कारण मैदान छाड्न बाध्य भएका थिए। उनको स्थानमा चेल्सीले क्रिस्टिन्सन मैदान छिराएको थियो। 

दोस्रो हाफमा सिटीका प्लेमेकर केभिन डि ब्रुइन घाइते भए। चेल्सीका एन्टोनियो रुडिगरले फल गर्दा उनी घाइते भएका थिए। त्यसपछि सिटीले गाब्रियल जेससलाई मैदान छिरायो। 

सिटीले दोस्रो हाफमा पेनाल्टीको अपिल गरेको थियो। चेल्सीका रीस जेम्सको हातमा बलले लागेपछि सिटीले पेनाल्टी अपिल गरे पनि पनि पाएन।

खेलको ७३ मिनेटमा चेल्सीले अग्रता दोब्बर पार्ने सुन्दर मौका खेर फालेको थियो। पुलिसिकको प्रहार थोरैले बाहिरिएको थियो। 

दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा सिटीका रियाद महारेजले बराबरी गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। उनको हाफ भली सर्ट आउट भएको थियो।

पोर्चुगलको पोर्टोमा भएको च्याम्पियन्स लिगको फाइनलमा हारेसँगै सिटीले चेल्सविरुद्ध खेलेका पछिल्ला तीनै खेलमा पराजित भोग्न बाध्य भयो। 

About The Author


Spread the love