मन्दिर गएर पुजारीले खाने गाँजा र पैसा चोरेको आरोपमा बारामा युवकको हत्या, ७२ वर्षीय पुजारीसहित दुई पक्राउ

Spread the love

बारा प्रहरीले २५ वर्षीय युवाको हत्या आरोपमा ७२ वर्षीय पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा विश्रामपुर गाउँपालिका-२ का ७२ वर्षीय पुजारी वीरबहादुर यादव र फेटा गाउँपालिका-३ का ३५ वर्यीय पारस महतो धानुक रहेका छन्।

गत असार ३ गते बिहान साढे ६ बजे विश्रामपुर गाउँपालिका-२ का २५ वर्यीय वीरेन्द्र बैठाको हत्या भएको थियो। बैठाको कुटपिटबाट मृत्यु भएको खुलेपछि प्रहरी घटना अनुसन्धानमा जुटेको थियो।

अनुसन्धान अनुसार बैठा सानै उमेरदेखि अत्यधिक मात्रामा मदिरा तथा गाँजा सेवन गर्ने गर्थे। गाउँलेहरूले चोरी आरोपमा उनलाई कुटपिट गरिरहन्थे।

अनुसन्धान गर्दै जाँदा सोमबार प्रहरी सोही ठाउँको हनुमान मन्दिर पुगेको थियो।

मन्दिर प्राङ्गणमा बालुवा राखेर थुपारेको सिमेन्टको बोरामा रगतका टाटा देखिए। त्यो कुरालाई प्रहरीले शंकाको रूपमा लियो। तत्कालै पूजारी यादवलाई नियन्त्रणमा लिएपछि अनुसन्धानले गति लिन थाल्यो।

आकस्मिक हत्या

पुजारीसँग लिइएको प्रारम्भिक वयानले बैठाको हत्या रहस्य खुलिहाल्यो। प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार मन्दिरमा गएर बैठा पटक-पटक गाँजा र पैसा चोरी गर्ने गर्थे।

मिश्रका अनुसार पुजारी गाँजा सेवन गर्थे। बैठा गाँजासँगै पैसा चोरी गर्ने गर्थे। चोरी गरेको बखत पुजारीले पटक-पटक कुटपिट गरी लखेटेका थिए।

असार ३ गते पनि बैठा बिहान २ बजे गाँजा र पैसा चोर्न मन्दिर पुगेका थिए। पुजारी यादवले फेला पारेर साधुले प्रयोग गर्ने फलामको चिम्टाले टाउकोमा प्रहार गरेका थिए।

‘चिम्टाले टाउकोमा प्रहार गरेपछि बैठा घाइते भएर लडेका थिए, त्यही मन्दिरमा सुत्ने गरेका पारस महोतोले बाँसको भाटाले प्रहार गर्दा उनको मृत्यु हुन पुग्यो,’ मिश्रले भने।

बैठाको मृत्युपछि अपराधबाट बच्न यादव र महतोले घिसारेर लगेर केही पर फालेका थिए।

पक्राउ परेका दुबैलाई कर्तव्य ज्यानमुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको मिश्रले बताए।  

About The Author


Spread the love